आइमाई साथी

Posted by Rijan KC on |


–  श्यामप्रसाद शर्मा

जोसँग हित्तचित्त मिल्छ त्यो साथी हो । जो हाम्रा सुख र दुःखमा सधैँ साथ दिन्छ, त्यो पनि साथी हो । हाम्रो जीवनको यात्रामा बेलाबेलामा खासखास किसिमका साथीहरु भेटिन्छन् र तिनीहरुसँग हामी घुलमिल हुन्छौँ, सुखदुःख बाँड्छौ र सपनाहरु आदानप्रदान गर्छौ । हाम्रो सामाजिक बनोट र सांस्कृतिक सोचाईमा साथी चाहिन्छ भन्ने कुरामा सङ्कोच पाईन्न तर पुरुषको साथी नारी र नारीको साथी पुरुष हुने कुरालाई अनौठा आँखाले हेरिन्छ । पुरुषले महिलालाई साथी बनाउने कुरामा श्यामप्रसाद शर्माको दृष्टिकोण कस्तो छ र महिलालाई साथी बनाउँदा उनले के–कस्तो अनुभव गर्नुपर्यो भन्ने कुरा थाहा पाउ न 'आइमाई साथी' निबन्ध पढ्नुहोस् । 


कहिल्यै निष्क्रिय भएर नबस्ने मानिसले मनले कस्ताकस्ता असम्भव कुराको त कल्पना गर्छ भने आफ्ना साथीहरु कोको छन् भन्ने विचार उठ्नुमा कुनै अस्वभाविकता थिएन । यही साधारण कुरा एक दिन मेरो मनमा पनि उब्जियो । मैले आफ्ना सबैजसो साथीहरुलाई सम्झिरहेँ । सकेसम्म बल गरी सम्झदाँ पनि आफ्ना आइमाई साथीहरुको संख्या सयकडा पाँचसम्म पनि पुग्न सकेत अर्थात् सय जना साथीमध्ये पञ्चानब्बेभन्दा पनि बढी साथीहरु लोग्नेमानिस रहेछन् । म खुद लोग्नेमानिस भएकाले मेरा साथीहरुमध्ये धेरै लोग्नेमानिस नै हुनु अस्वभाविक थिएन तर स्वास्नीमानिस साथीहरुको संख्या त्यस्तो विघ्न कम देख्ता भने मलाई साह्रै  बेमज्जा लाग्यो । हुन त स्वास्नीमानिसलाई हेला गर्ने र पुरुषलाई प्रधानता दिने हाम्रो समाजमा जोसुकै लोग्नेमानिसको पनि स्वास्नीमान्छे साथीहरुको संख्या सारै कम हुन्छ तैपनि आफ्ना आइमाई साथीहरुको संख्या हुनसम्म थोरै देख्दा हाम्रो समाजभरिमा सबभन्दा थोरै जना आइमाई साथीहरु भएको लोग्नेमानिस म नै हुँ कि जस्तो मलाई लाग्यो । 

साहित्य र राजनीतितर्फ लागी सामाजिक क्षेत्रमा चलेको अलि वर्ष वितिसकेकाले आइमाई साथी यति विघ्न थोरै देख्ता मेरो मनमा झन ज्यास्ती विझ्यो किनभने नारीलाई नरकको मूल ढोका नठान्ने र जीवनको सबैजसो क्षेत्रमा स्त्रीपुरुषको बराबर हक हुनुपर्छ भन्ने एवम् पछौटे देशका आइमाईलाई घर नाउँको झ्यालखानाभित्र थुनिरहन नदिई सामाजिक क्षेत्रमा समेत लम्कन हौस्याउनेहरु साहित्य, राजनीति आदितर्फ लागेका आधुनिक युवकहरु नै हुन् । यस किसिमको कामका निम्ति महिलाहरुको सम्पर्कमा रहने गर्नु र उनीहरुको सकेसम्म बढी जनालाई आफ्नो मित्र बनाउनु जरुरी छ । सारा स्वास्नीमानिसहरुका बीचमा साहित्य र राजनीतिजस्ता विषयहरु घुसाउन धेरै उन्नति भइसकेका मुलुकमा समेत स्वास्नीमानिस विशेषज्ञबाट जस्तो सजिलो लोग्नेमानिसहरुबाट हुँदैन भने महिला कार्यकर्ताहरुको ठूलो जमात खडा नपरेसम्म पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मधेस, पर्वत र उपत्यकामा फिँजिएका नेपालका साधारण नारीहरुमा जागृतिको बहार ल्याउन कसरी सकिएला? अहिले पनि र भरे पनि समाजमा परिवर्तन तथा उन्नति  ल्याउन खोज्ने साहित्य, शिक्षा, राजनीति आदि विभिन्न क्षेत्रका हामी लोग्नेमानिसहरुलाई देशको व्यापक नारी समूहमा पुग्न आफ्ना आइमाई साथीहरुको सहयोग नै विशेष महत्वपूर्ण देखिन्छ । 

आइमाई साथीको महत्व र तिनको आवश्यकताबारे मैले जे, जस्तो र जतिसुकै विश्लेषण गरे पनि मेरा आइमाई साथीहरु भने अल्पतम सङ्ख्यामा हुनु मेरा निम्ति कठोर यथार्थता थियो । त्यसैले मैले वार्ता विश्लेषण मात्र नगरिरहेर अथवा फिक्री लिनपट्टि नलागेर आइमाई साथी बढाउन थाल्ने निधो गरेँ । साथीको मेरो अभिप्राय हो– सकभर धेरै अंशमा अथवा धेरै अंशमा नभए पनि दुई थरीका कुरा र उमेरसमेत मिल्दो हुनु तथा हिमचिम हुनु । 

मानिस बेलाबेलामा अनेक किसिमका अठोटहरु गर्छ । तीमध्ये धेरैजसो अठोट परिस्थितिको प्रतिकूलता र साधनको अभावले गर्दा क्रियान्वित हुन पाउँदैनन् । व्यक्तिका कतिचाहिँ नीच मार्ने बानीजस्ता आफ्नै दुर्बलताले गर्दा पनि त्यसै सेलाएर जान्छन् । आइमाई साथी बढाउने मेरो सङ्कल्पलाई परिस्थितिजन्य बाधाले छेके पनि यी बाधाको प्रभाव, उत्साहजस्ता भित्री प्रवृत्ति उपरसमेत पर्ने भए पनि यस प्रयत्नमा भने उति शिथिलता आउन सकेन किनभने एक त यहाँ नारीपुरुषमा एक दोस्राप्रति हुने स्वाभाविक आकर्षण त्यसै पनि सहायकझैं थियो, उसमाथि आफू उमेरदार पनि । 

तिनताक मेरो डेरा सहर नजिकैको गाउँमा थियो । आफ्नो कामको निम्ति मैले नित्य सहर जानुपथ्र्यो । मेरा छिमेकमा एक जना आइमाई मेरै उमेरकी थिइन् । उनी पनि किनमेल र आफ्ना इष्टमित्रसँग भेटघाट गर्न दिनहुँ भने जस्तो सहर जाने गर्थिन् । म भरखर त्यस गाउँमा बस्न गएकाले त्यहाँका सबैजसो मानिस मेरा निम्ति नौला थिए । म पनि हिँडे । सधैँ एक्लै भनेजसो हिँड्नुपर्ने हामी दुवै थरीलाई त्यस दिन कुरा गर्दै सहर जान पाउँदा बाटो काटेको पत्तै भएन, मानौँ आँखा एक चोटि झिम्म होउन्जेलमै हामी गाउँबाट सहर पुगिहाल्यौँ । सहरबाट फर्कदा प्रायः घाम डुब्ने बेला हुन्थ्यो र कहिलेकाँही त झमक्कै साँझ पनि परिहाल्थ्यो । घर आइपुग्ने बेलामा अतिकता बाटो डरलाग्दो खालको थियो । सहर पुगेपछि केही असजिलो मानेझैं गरी भरे पनि सँगै फर्कन पाए हुन्थ्यो भन्ने कुरा उनले चुहाइन् । साँझमा हामी सँगै फक्र्यौँ पनि । फर्कँदा मैले अबदेखि सहर जाँदा आउँदा सकभर सँगै जाने आउने कुरा चलाएँ अनि त्यस्तै हुन  थाल्यो । मैले एक जना आइमाई साथी छिटै बनाइहालेँ । 

अलि दिनसम्म बाटो हिँड्दाका साथी अब हामी घरका पनि साथी भयौँ । उनी मकहाँ आउने गर्थिन् । म पनि उनीकहाँ जाने गर्थेँ । कहिले उनी मलाई डाकेर खाजा खुवाउँथिन्, कहिले म उनीलाई बोलाएर खुवाउँथेँ । दुई घरमध्ये एउटामा कुनै नौलो तरकारी पाक्यो भने दुवै थरीका मुखमा पथ्र्यो । उनी घरको कामधन्दा सिद्धयाएपछि बुन्ने वा बुट्टा भर्ने काम लिएर हामीकहाँ आई बस्थिन् । म आफ्ना कथा, निबन्ध आदि रचना तयार भएमा उनलाई सुनाउँथे । यसरी हाम्रो हिमचिम बढिरहेको थियो ।

हाम्रो मित्रता समाजलाई रुचेन । मानिसहरुले प्रशस्त कुरा काट्न थाले । अरुले कुरा काटे भन्दैमा परस्परको मित्रता तोड्नु रुढिवादी विचारको अगिल्तिर घुँडा टेक्नु जुन जान्थ्यो । यहाँ समाजसँग टेक लिनु मात्र थिएन, असल कुरामा टेक लिनु पर्ने थियो तर यस मित्रताको रुप यसै गरी खुला राख्छौँ भनी अड्डी लिन पनि बुद्धिले मानेन किनभने हाम्रो विचार असल भईकन पनि हामी निर्धा थियौँ । संसारमा राम्रो विचार लिएर मात्र पुग्दैन । राम्रो विचारको साथसाथै बलको पनि आवश्यकता पर्छ । रुख हुनुभन्दा अगिको बिरुवालाई जोगाएर राख्नु जरुरी भए जस्तै असल विचारमा लाग्नेहरुले पनि बल नपुगुन्जेल दबेर नबसी सुखै छैन । हामीले घरमा जस्तो नभेट्ने र बाहिर सँगै निस्कन पनि छाड्ने निधो ग¥यौँ । 

बाहिर देख्ता हाम्रो मित्रता अगिको भन्दा निकै घटिसकेको थियो । त्यसैले कुरा काट्नेहरु पनि अलि मत्थर भएर गए तर हाम्रो मित्रता झन्झन् दृढ हुँदै गइरहेको थियो । हामी दिनहुँ भनेजस्तो अगिपछि पारेर गाउँबाट निकै परपर पुग्थ्यौँ र घण्टौँसम्म बात मारेर बस्थ्यौँ । यसरी समाजको आँखा छली कुनै नारीसँग मितेरी बढाउँदै जानुमा मैले अनैतिकता देखिनँ । आफूले खुला रुपबाट मैत्री सम्बन्ध राख्न चाहँदाचाहँदै पनि समाज असहिष्णु भई त्यसलाई लुकाउन बाध्य पार्छ भने यसका निम्ति मितेरी बढाउन खोज्ने स्त्रीपुरुष दोषी नभई मैत्री र सद्भावनाजस्ता राम्रा कुरालाई हुर्कन नदिने समाज नै अपराधी हो भन्ने विचारमा म आज पनि दृढ छु तर परिस्थितिले पारेको त्यस्तो गोप्य किसिमको मैत्री अनैतिक नभए पनि जोखिमको कुरा त अवश्य नै हो । यसमा मुख्य दुई किसिमका जोखिम देखिन्छन्– एउटा त समय खेर जाला भन्ने अर्को चाहिँ एक दोस्रोलाई राम्ररी चिन्न नपाउँदै उनीहरुका बीचमा जोईपोइको नाता जोरिन जाला भन्ने । अलि दिन समय खेर गइसकेपछि हामीलाई यस कुरा चेत आयो । हुन त हाम्रो कुराको विषय कहिल्यै नराम्रो रहेन । अझ ज्यादाजसो कुुरा वर्तमान समाजका दुर्गुणहरुका बारेमा नै हुन्थ्यो तर ती कुरा असल भए पनि र असल कुरालाई बर्सोँसम्म दोहोर्याइरहे पनि कुराबाट मात्र त समाजका भनिनसक्नु दुर्गुणहरुमध्ये एउटासम्म पनि हराएर जाने होइन । त्यसैले हामीले कामलाई समेत मित्रताको आधार बनाउने अठोट गर्यौँ । 

मैले त्यस गाउँका निकै जना ठिटाहरुलाई पनि पढाउन थालेको थिएँ तर ठिटीहरुलाई पढाउने काम भने बाँकी नै थियो । मैले आफ्नी साथीछेउ गाउँका ठिटीहरुलाई पनि पढाउन थाल्ने प्रस्ताव राखेँ । उनीहरुलाई चाहिँ आफूले पढाउने र उनीहरुबाट आफूले नेवारी भाषा सिक्ने कुरा पनि गरेँ । यसरी काम लिएपछि हाम्रो समय खेर जान कम हुँदै आयो । अर्को जोखिमबाट जोगिन हामीले एक–दुई जना अरु साथी पनि छिटै जोर्ने निधो ग¥यौँ । त्यसो भएको खण्डमा हामी दुई जनाले सधैँ एकान्तमा भेट गर्नुपर्ने अवस्था रहँदैनथ्यो । यस निर्णयको अलि दिनपछि नै सहरतिरको काम बढेकाले भ्याउन नसक्ता मैले गाउँको डेरा छाड्नुपर्याे । त्यसको अलि दिनपछि मेरी साथीको बिहे भयो र उनी पनि टाढाको अर्कै गाउँमा घरजम गर्न पुगिन् । हाम्रो भेट नभएको अहिले धेरै समय बितिसक्यो तर उनीसितको मित्रता सम्झँदा मलाई निकै आनन्द लागेर आउँछ र त्यसले आइमाई साथी बनाउने कुरामा मलाई प्रेरणा दिने गर्छ । 

बाटो हिँड्दा, रेल मोटर चढ्दा र होटेल रेस्टुराँहरुमा खाँदा, बस्ता वा अरु अवसरमा कति यस्ता मानिसहरुसँग हाम्रो भेट तथा कुराकानी हुने गर्छ जोसँगको केहीछिनको मित्रता पनि चिरस्मरणीय विषय भएर हाम्रो स्मृतिपटलमा अङ्कित हुन पुग्छ । कति जनासँगको त्यस बेलाको मैत्रीपूर्ण कुराकानी पछिसम्म त सम्झिरहिन्न तर त्यस दिन वा कुराकानीले आनन्द लाग्ने मात्र होइन, स्वदेश–विदेशका घटनाहरु, राजनीति, विज्ञान, साहित्य, शिक्षा, धर्म आदि सांस्कृतिक विषय, दैनिक जीवनका अनेक समस्या तथा अनेक विषयमा हामीहरुका विभिन्न दृष्टिकोणसमेत थाहा हुन्छ । यसबाट देशवासीहरुको बौद्धिक तहका साथै देशले कुन किसिमको कोल्टे फर्न आँटिरहेछ भन्ने बुझ्न पनि धेरै मद्दत गरेको छ तर हाम्रा नागरिक स्त्रीपुरुषमध्ये दुवै थरीलाई एक–दोस्रोको सम्पर्क आउन असजिलो वातावरण भएकाले आथि लेखेजस्तो आनन्द र ज्ञानबाट हामी पचास प्रतिशतभन्दा कम मात्रामा वञ्चित छैनौँ । 

समुद्रपारिका नारीहरुलाई साथी बनाउन बरु सजिलो होला तर आफ्ना देश, आफ्नो सहर र गाउँका, आफ्नो टोल र छिमेकका आइमाईलाई साथी बनाउन हामीलाई धेरै गाह्रो पर्छ तर गाह्रो भन्दैमा राम्रो कामबाट पन्छिनु उचित कुरा होइन । त्यसैले आइमाई साथी बनाउन सकिने किसिमको अवसर पर्दा म प्रायः पछि सर्ने गर्दिनँ । 

एक दिन मध्याह्नमा टँुडिखेलमा हिँडिरहेको बेलामा संयोगवश एक जना युवतीसँग भेट भयो । उनी पनि म जान लागेतिरै गइरहेकी थिइन् । उनीलाई मैले चिनेको थिइनँ । केही मिनेटसम्म सँगसँगै हिँडिसकेपछि र उनले मलाई अनेक पल्ट हेरिसकेपछि पनि हामीमा बालचाल हुन सकेन । कहिले त मेरो मनमा लाग्यो सँगसँगै हिँड्न आइपुगेकाले यिनले नराम्रो मानिन् कि? यिनलाई उछिनेर अगिअघि जानुप¥यो । कि अलि पछि नै हिँड्न छाडेर किन त्यस्तो कृत्रिम गति झिकिरहुँ ? बाटो हिँड्दा सँगै परियो भन्दैमा उनी नराम्रो मान्छिन् भने मेरो के बिराम? फेरि उनीले त्यस्तो नराम्रो मानेकी नै छैनन् कि?

उनलाई अगिअगि पार्ने विचार अस्वभाविक लागेर आफ्नो मतापमा उनीसँगसँगै हिँडिरहेपछि परस्परमा बोलचाल नगर्नु पनि मलाई अस्वभाविक नै लाग्यो । मानिस भएर पनि मनमा बोल्ने इच्छा भएर पनि रबरका पुतलीहरुझैँ त्यसरी चुप लागेर हिँडिरहँदा मलाई साह्रै उकुसमुकुस भएर आयो । त्यसरी बाटामा सँगसँगै हुन आइपुगेको मानिस पुरुष भएको भए एकछिनमै उनीसँग मेरो कति कुराकानी भइसक्ने थिए । तर बाटाकी ती साथी नारी हुँदा एकवचन बोल्न पनि धकाउनुपर्ने अवस्थाका निम्ति मलाई आफ्नो समाजसँग औधी रिस उठ्यो । तर समाजका चित्त नबुझ्दा कुराहरुसँग कुपित भएर मात्र त स्वस्थ संस्कृतिको सिर्जना र विकास हुन सक्ने होइन । समाजको नवनिर्माण गर्न चाहने युवकयुवतीहरुले त मैत्री र सद्भावनायुक्त हुनाका साथै आँटी हुनु पनि साह्रै जरुरी छ । त्यसकारण मैले जे परीपरी भन्ने इदमित्थम्मा पुगेर सोधेँ– "होइन, तपाइँ कहाँसम्म जानु हुने?" उनीले सहजै जबाफ दिइन्– "रेडियो स्टेशन ।" "तपाईँ नि?" "म पुतली सडकतिर जान लागेको ।" त्यसपछि सिंहदरबारको ढोकासम्म हामी बात मार्दै गयौँ । मेरा तर्क–वितर्क सबै हराएर गए, मन नै हलौँ भयो ।

बाटाका यस्ता एकछिने साथीसम्बन्धी मेरो अनुभवका अरु पक्ष पनि छन् । एकपल्ट बर्खा याममा म कुनै फाँटमा हिँडिरहेको थिएँ । साँझ पर्ने बेला भएको थियो र गाउँमा पुग्न पन्ध्र–बीस मिनेट अझै लम्कनुपपर्थ्यो । एक्कासि बादल चुहिन थाल्यो र रुझाउने खालको पानी प¥यो । मैले छाता उघारेँ तर मभन्दा आठ–दस पाइला अगि हिँडिरहेकी तरुनीसँग भने छाता वा घुम ओढ्ने केही थिएनन् । गाउँ नपुगी त्यस फाँटमा ओत लाग्ने ठाउँ पनि केही थिएन । यहाँनिर आइमाई साथी बनाउने रहरको मात्र कुरा नभएर मानवताकै प्रश्न थियो । सँगसँगै हिँडिरहेका दुई जना बटुवामध्ये एउटाको छातामुनि ओत लाग्ने ठाउँ बाँकी हुँदाहुँदै पनि अर्कोचाहिँ बटुवा रुझिरहेको थियो । आगलागी, बाढी वा भुइँचालोजस्ता आपत्तिमा परेका मानिसको रक्षा गर्न सोधिरहनु नपरेझैँ रुझिरहेकी ती आइमाईलाई छाता ओढाउन म अलि लम्केँ तर उनीनिर पुगेपछि मैले झट्ट छाता ओढाइनहालेर शिष्टतापूर्वक निम्तो गरेँ – "छाता हुँदाहुँदै किन रुझ्नुहुन्छ ? आउनुहोस् !" तर यसपल्छ मलाई रेडियो गायिकाले दिएझैँ सोझा जबाफ मिलेन । "चाहिँदैन हामीलाई कसैको छातासाता !" भन्दै ती तरुनीले रिस, शङ्का, डर इत्यादि भावहरु मिसिएको जस्तो अनुहार लाइन तैपनि मैले दोहोर्याएर आग्रह गर्न बाँकी राखिनँ– "गाह्रो वा नराम्रो मान्नुपर्दैन । बरु गाउँ पस्न बेलामा छुट्टिनुहोला । अहिले यसरी नभिज्नोस्, आउनोस् !" कुनै जबाफ नदिई युवती झन् तर्किन थालिन् अनि मैले पनि आफूलाई पछि पार्नु नै उचित ठानेँ ।

त्यही फाँटमा केही दिनअगि त्यस्तै झरीको साँझ एक जना तन्नेरीलाई पनि छाता ओढाएको थिएँ । उनी मेरै गाउँ नजिकको अर्को गाउँमा बस्ने सिपाही रहेछन् र त्यस साँझ एक जना मन्त्रीज्यूको ढोकामा आफ्नो ड्युटी सिद्धयाएर फर्केका रहेछन् । मैले उनलाई उनको दैलोसम्म पुर्याइदिएको थिएँ र यस चिनारीले हामीलाई पछि पनि एक दोस्राको साथी तुल्याएको थियो ।

यी दुई तुलनात्मक घटनाको सम्झना हुनासाथ मेरो मनमा स्त्रीपुरुषको सम्बन्धबारे अनेक किसिमका प्रश्नहरु उठ्छन् । जस्तै– छाता ओढाउन खोज्नु मेरै दोष हो अथवा त्यस छाता ओढ्नबाट दप्कनु ती ठिटीकै दुर्बलता हो । म दोषी भए कति, कुन कारणले दोषी हुँ र ठिटीकै कमजोरी हो भने उनमा किन त्यस्तो कमजोरी आयो? पुरुषको त्यस्तो निम्तोलाई स्वच्छ हृदयले स्वीकार गर्ने कैयन् नारीहरुले धोका खाएका छैनन् र? के त्यसरी धोका दिनेहरु पनि समाजमा छैनन्? यसरी स्त्रीपुरुष दुवै थरीमा धोका दिनेहरु छन् भने किन त? यीमध्ये एक थरीले बढी धोका दिने गरेका छन् भने त्यसो पनि कनि? के सँधै यस्तै रहिरहनु उचित छ? यस्तो रहिरहनु राम्रो होइन भने यो स्थितिलाई कसरी सपार्ने? के आइमाई र लोग्नेमानिस एक दोस्राबाट सकेसम्म टाढा राख्ने गर्नु नै सुधारको राम्रो उपाय हो? त्यसै हो भने समाज किन सच्चरित्र र निष्ठावान् बन्न सकेन? किन यहाँ पारस्परिक अविश्वास र दुर्भावना? किन आत्मबलको अभाव? यस्ता प्रश्न अनगन्ती छन् । 

स्वास्नीमान्छेलाई लोग्नेमान्छे र लोग्नेमान्छेलाई स्वास्नीमान्छे साथी बनाउन अप्ठ्यारो पार्ने एउटा ठूलो कारण सिद्धान्तलाई पूजा गर्ने हाम्रो बानी पनि हो अर्थात् हामी सिद्धान्तलाई व्यवहारिक रुप दिने प्रयत्न गर्नुको सट्टा त्यसको खालि गुन गाएर हिँड्छौ । हामी न्यायको माहात्म्य गाउँछौँ तर स्वयम् अन्याय गर्नबाट पछि सर्दैनौँ । हामी विश्व बन्धुत्व र देशभक्तिको बयान गछौँ तर खुद मानवताको विपरित र देश भाँड्ने काम गरेर हिँड्छौँ । हामी साम्प्रदायिकताको निन्दा गर्छौ, आर्थिक समानता र स्त्रीपुरुषको समानताको आड लिन्छौ तर आफै साम्प्रदायिक भावनाअनुसार चल्छौँ, आफै स्त्रीपुरुषको समानता र आर्थिक समानताको उल्टो हिँड्छौँ । हाम्रा सबैजसो सिद्धान्त र व्यवहारमा यस्तै ठूलाठूला विरोधाभासहरु देखिन्छन् । म अझ एक–दुई उदाहरण तेस्र्याउन चाहन्छु ।

अचेल म काठमाडौँ सहरका सडक, गल्लीहरुमा हिँड्दा कहिलेकाँही केही त्यस्ता स्वास्नीमान्छेलाई पनि देख्छु जसले मलाई लेखकको रुपमा चिनेका छन् र मप्रति तिनीहरुको कुनै किसिमको नराम्रो भावना छैन । तीमध्ये कति जनाको मलाई नाउँ पनि थाहा छ र कति जनालाई म अनुहारबाट मात्रै चिन्दछु । ती सबैप्रति हृदयमा पनि सद्भावना छ तथा म तिनीहरुसँग मैत्री सम्बन्ध राख्न चाहन्छु । कुनै समय तिनीहरुसँग मेरो दोहोरो कुराकानी पनि भएथ्यो । तर अहिले बाटामा भेटिँदा हामी एक दोस्रा थरीसँग बोल्दैनौँ, दुवै थरीका अनुहारबाट एक दोस्रालाई चिनेको भाव झल्किरहन्छ तापनि हामी नचिनेको मानिस अथवा चिनजान बिर्सिसकेका मानिसझैँ गरी हिँड्छौँ । यिनीहरुमध्ये धेरै जनालाई मैले काठमाडौँका हाईस्कुलहरुमा साहित्यसम्बन्धी प्रवचन दिन गएको बेलामा चिनेको हुँ । यीमध्ये एक जना छात्राले म त्यस बेला मधेसबाट आएको हुनाले मधेसका आइमाईहरुको अवस्था सोधेकी थिइन्, अर्कीले तराईमा स्त्री शिक्षाको कत्तिको प्रचार छ भन्ने प्रश्न गरेकी थिइन्, अर्कीचाहिँले साहित्यसम्बन्धी एक–दुई प्रश्न सोधेकी थिइन् र अर्कीले मेरो भ्रमणका सम्बन्धमा चाख देखाएकी थिइन् ।

हाईस्कुलका यी छात्राहरु अहिले कलेजमा पुगेकाले मेरो मनमा यिनीहरुप्रति स्याबासी जनाउने विचार छ र दुई–अढाई वर्षअगि नै देशका विभिन्न भागमा आइमाईहरुको शैक्षिक अवस्था जान्न खोज्ने यी छात्राहरु अचेल के–कस्तो विचार गर्दा हुन्? उनीहरुसँग कुरा गरेर बुझ्न मलाई मन लाग्छ तर लोग्नेमानिस र आइमाईका बीचमा रहेको कालो पर्खालले हामीलाई परस्परमा बोलचाल गर्न र पुरानो सम्झना दोहो¥याउन ठूलो बाधा ठड्याईदिएको छ । यस्तो देख्दा मलाई स्कुल र कलेजभित्र पसी सारा पुस्तकहरु च्यातचुत पारी मिल्काउन मन लाग्छ । समानता र सद्भावनाका कुरा भएका हामी सबै दाजुभाई–दिदीबहिनी हौँ, परस्परमा एक दोस्रोप्रति सहृदयता तथा सद्भावना हुनुपर्छ भन्ने आशयका राम्राराम्रा शिक्षा भएका ती सारा पुस्तक–पुस्तिकाहरुलाई टुँडिखेलको माझमा थुपारी दुई–चार टङ्की मट्टीतेल पा प्याट्रोल खन्याई तिनमा आगो सल्काइदिन मन लाग्छ र  तिनको सट्टा त्यस्ता नयाँ पाठ्यपुस्तकहरु तयार पार्ने भावना उम्लेर आउँछ जुन पाठ्यपुस्तकमा प्रचलित व्यवहार र धारणाअनुसारकै कुरा रहुन्, जसबाट प्रचलित जीवनमा काम नलाग्ने शिक्षा प्राप्त गर्नमा हाम्रा विद्यार्थीहरुले समय खेर फाल्न नपरोस् अर्थात् तिनमा ‘प्रत्येक स्त्री वेश्या र प्रत्येक पुरुष फँुडो हो, कसैले कसैप्रति सद्भावना राख्ने गर्नु हुन्न, चिनेका नरनारी भेटिँदा दुई शब्द बोल्नु, नमस्ते वा यस्तै अन्य सङ्केतबाट परस्परमा स्वागत गर्नु अथवा मुस्कुराएर हामीले एक दोस्रालाई बिर्सेका छैनौँ भन्ने सद्भावना देखाउनुजस्ता काम व्यभिचार हुनु, प्रत्येक स्त्रीले पुरुषलाई देख्ता र पुरुषले स्त्रीलाई देख्ता अपराधीले झैँ भुइँमा आँखा जोत्ने वा मुन्टो बटोरेर हिँड्ने गर्नुपर्छ, मनुष्यत्व भनेकै यही हो, यस्तै सभ्यता र संस्कृतिबाट नै नेपालको विकास हुन सक्नेछ’ भन्ने खालका कुराहरु रहुन् । 

यो त चिनेका दुई–चार जना छात्राहरुले नचिने झैँ गरी हिँड्दा वा हिँडिनुपर्दा ममा आउने भावना भयो । तर मेरो यस्तो भावना त्यस बेला पराकाष्ठामा पुग्छ जब म साहित्यिक, राजनीतिक र सामाजिक विभिन्न क्षेत्रमा काम गरिरहेका आफ्ना केही प्रगतिशील साथीहरुको एक–दुई व्यवहार सम्झन्छु । ती आइमाई र लोग्नेमानिसका निम्ति समानताको मात्र कुरा नगरेर नेपालजस्तो मुलुककमा विकासका निम्ति पुरुषले भन्दा कम मौका पाइ आएका नारीहरुलाई अगि बढाउन विशेष प्रोत्साहन दिने गर्नुपर्छ पनि भन्छन् । उन्नत देशहरुमा आइमाईको कति राम्रो अवस्था छ भन्ने विषयमा ती कुरैपिच्छे भनेझैँ अरुलाई व्याख्यान दिन सक्छन्, यस विषयमा घण्टौँसम्म भाषण गर्न सक्छन् तथा लेख र पुस्तक–पुस्तिका लेख्न सक्छन् । तर उनीहरुका घरमा धेरै पल्ट पुगियो, उनीहरुले कहिल्यै यी मेरी श्रीमती, यहाँ मेरी दिदी वा यी मेरी बहिनी हुन् भनेर चिनारी गराएनन् । आफूलाईए भेट्न आउने साथीलाई घरको अरु जहानसँग पनि चिनारी गराउन बिर्सनु हुन्न भन्ने खालको कुनै नियम भएको भए यी साथीहरुलाई सो कुराको सम्झना गराउँदो हुँ तर यहाँ नियम कानुनको कुरा नभएर विचार र भावनाको कुरा थियो । त्यसैले यसबारे केही नबोलेर म फर्केको छु । 

हुन त साथीहरुले स्वास्नीले आफ्ना साथीहरुसँग लोग्नेलाई चिनजान गराउन नथालुन्जेल लोग्नेले मात्र आफ्ना साथीहरुसँग स्वास्नीको किन परिचय गराउने भन्ने समान दृष्टिकोण लिएको पनि हुन सक्छ । यस्ता घरायसी कुरालाई छाडिदिऊँ भने उनीहरुमध्ये धेरैजसोले आफ्नी श्रीमतीलाई पुस्तकालय, मैत्री सङ्घ र अरु सामाजिक वा राजनीतिक संस्थाहरुको सदस्य बनाउने गरेको पनि देखिन्न । अनि स्वास्नीमानिसले लोग्नेमानिस र लोग्नेमानिसले स्वास्नीमानिस साथी बनाउने अवसर कसरी परिरहने गर्नु ? आफ्ना त्यस्ता साथीहरुकहाँ गएपिच्छे मलाई एउटा पण्डितको कथा सम्झना नभई छाड्दैन जो आफ्नी दुलहीलाई कोठामा थुनी, ताल्चा मारी, साँचो जनैमा झुन्ड्याएर सभामा नारीस्वतन्त्रताको महत्व एवम् आवश्यकताबारे व्याख्यान दिन जाने गर्थे ।

काठमाण्डौँमा पत्रमैत्री सङ्घ पनि छन् तर तिनको नियम मलाई थाहा छैन । म के भन्न सक्तिनँ भने यी सङ्घद्वारा विदेशमा मात्र साथी बनाउन पाइने हो अथवा स्वदेशमा पनि र आइमाईले आइमाई नै र लोग्नेमान्छेले लोग्नेमान्छे नै साथी बनाउन सक्ने हुन् अथवा जसले जोसुकैलाई साथी बनाऊँ भने पनि पाइने हो । यसका केही नियम त्रुटिपूर्ण होउन् तापनि संसारका सबैजसो सभ्य मुलुकमा प्रशस्त सङ्ख्यामा भएको पत्रमैत्री सङ्घजस्तो राम्रो माध्यम हाम्रो देशमा पनि हुनु हर्षकै कुरा हो ।

पत्रमैत्री सङ्घको कुरा आउँदा आफूले चिठीबाट मितेरी गर्न खोजेका कुराहरु पनि सम्झन्छु ।

एकपल्ट मधेसतिर एक जना सज्जनकहाँ साता–दस दिन बस्ने काम परेको  थियो । त्यस बेला उनको घरका बूढाबूढीदेखि लिएर केटाकेटीसम्म सबैजसो स्त्रीपुरुषसँग मेरो राम्रो सम्पर्क हुन पायो । ती सज्जनका एउटा छोरा र एउटी छोरी उमेरदार थिए । दुवैले हलाक टिकटहरु सङ्ग्रह गर्न थालेका रहेछन् । तिनताका मैले पनि टिकट–सङ्ग्रहमा चाख दिएको थिएँ । दुवै थरीले एक दोस्रोलाई टिकट सङ्ग्रह बढाउनमा सघाउने र चिठी लेख्ने टुङ्गो हामीले   लायौँ । घर फर्केपछि मैले उनीहरुलाई महिनाको एक–दुई चिठी र चिठीका साथै केही टिकटहरु पनि पठाउन थालेँ । मलाई पनि दुवै साथी चिठी लेख्थे तर आइमाई साथीको चिठीमा चाहिँ प्रायः मेरो चिठी पाइनँ भन्ने गुनासो हुन्थ्यो । पछि थाहा भयो, उनको चिठी पिताजीको हातमा मात्र दिइँदो रहेछ तर प्रगतिशील भनी कहलिएकाले छोरीलाई चिठी लेख्नबाट रोक्न पनि सक्ता रहेछनछन् ।

यसरी मैले आइमाई साथी बनाउने प्रयत्नमा अरु पनि निकै जनासँग चिठीचपेटा गर्न खोजेँ । त्यस बेला थाहा भयो, हाम्रा पत्रिकाहरुमा रचना प्रकाशित गर्ने कतिपय लेखिका र कवयित्री वास्तवमा पुरुष नै हुँदा रहेछन् । यस्ता तीतामीठा सबै अनुभवहरुलाई यहाँ कोरिरहेर साध्य छैन तर एउटासम्म त अर्को कुरा पनि लेखिहालूँ । त्यो के भने यसै गरी आइमाई साथी बनाउने क्रममा नै एकजनासँग मेरो प्रेम र बिहे पनि भयो । मैले घडी, दिन, महिना र वर्षका निम्ति मात्र होइन जीवनसाथीका रुपमा नै आइमाई पाएँ तर बिहे हुनासाथ हामीमा जोईपोइको साइनो पनि लागिहाल्यो । त्यसैले आइमाई साथी मात्र नभएर पत्नी, बहिनी, दिदी, भाउजू, बुहारी, काकी, भान्जी, फुपु, सानीमा, भतिजी इत्यादिसमेत हुन् । मेरो विचार छ– यस्तो कुनै नाता नपर्ने केही आइमाई साथी पनि प्रत्येक पुरुषको हुनुपर्दछ जसरी कुनै साइनो नलागेको प्रशस्त पुरुषहरु हाम्रा साथी   छन् ।

(तँ, तिमी, तपाई, हजुरबाट)


निबन्धकार परिचय
श्यामप्रसाद शर्मा (वि.सं. १९८६) नेपालका प्रगतिवादी साहित्यकार हुन् । उनले तँ, तिमी, तपाई, हजुर, लेखक कसरी बन्ने?, थुनुवाको डायरी, बहिनीलाई चिठी लगायत प्रशस्त कृतिको रचना गरेका छन् । उनको लेखनमा समाजको विसङ्गति र विकृतिमाथि प्रहार गरिएको पाईन्छ । उनी मुख्यतः निबन्धकार हुन् भने उनले केही कविता पनि लेखेका छन् । समाजलाई नयाँ र गतिशील बाटोमा डो¥याउन लेखिएका उनका निबन्धमा प्रगति, न्याय र समताको अभिव्यक्ति पाइन्छ । उनले नेपाली प्रगतिवादी निबन्धको खास बान्की निर्माण गर्दै यस विधामा महत्वपूर्ण योगदान दिएका छन् ।

PDF डाउनलोड गर्नका लागि यहाँ Click गर्नुहोस् ।

Enter your email address to subscribe news feed:

Contact Me

Rijan KC
Kalika Muncipality-5, Padampur
Chitwan, Nepal
Cell: +977 9845080226, 9855080226
E-mail: mail@rijankc.com.np
Facebook: /kc.rijan

Recently Uploaded Matter

Sponsor