Latest Articles

मधुमालतीको कथा


– रमेश विकल

बालकहरु जन्मँदा निष्कलङ्क र पवित्र हुन्छन् । तिनको आफ्नै रमाइलो संसार हुन्छ । तिनीहरु जव हुर्कन र बढ्न थाल्छन् अनि समाजमा विद्यमान वर्गीय र सांस्कृतिक विभेदका कारणले तिनले मानसिकतामा भेदभावको बीजारोपण   हुन्छ । यस्तो भेदभाव जन्मजात नभई समाज र परिवेशले सिर्जना गरेको हो । यसबाट नै समाजमा धनी–गरिब, ठूलो–सानोजस्ता भावनाको विकास हुने   गर्दछ । यस्तो भेदभावले साथी बनाउने कुरामा समेत बाधा उत्पन्न गराउँछ । कतै हामीले पनि बाल–मस्तिष्कमा विद्वेष रोपेर सामाजिक विभेद बढाउने कार्य त गर्दै छैनौँ? कथाकार रमेश विकलले यस्तो सामाजिक समस्यालाई कथाका रुपमा कसरी प्रस्तुत गरेका छन्? पढौँ ‘मधु–मालतीको कथा’ । 


"... राजा मधुकरले रानी मालतीसमेतलाई उही फटिकको खम्बाबाट निस्केको वायुपङ्खी घोडामा चढाई त्यहाँबाट उडे ।" – आमा एउटा किताब लिएर पढ्न थाल्नुहुन्थ्यो । त्यस बेला म ज्ञानी बालकजस्तै आमाको छेउमा चुपचाप बसिरहन्थेँ । यद्यपि म बाहिर बिलकुलै शान्त र गम्भीर देखिन्थेँ तर आमाको प्रत्येक शब्दको तालमा मेरो मुटुको धड्कन छिटोछिटो हुँदै जान्थ्यो । भय, आशङ्का र खुसी मिसिएको विचित्र अनुभूति ! "साँच्चै मधुकर अथवा मालती दुइटामा एउटा घोडाबाट खसे भने ! ... अथवा घोडाले जीउ हल्लाइदिएर दुवै खसे भने ... त्यो मधुकरको आफ्नै घोडा होइन, खसालिदियो भने ? ..." मेरो आङ सिरिङ्ङ गर्दथ्यो, रौँ ठाडा भएझैँ लाग्दथ्यो । उफ् ! त्यति माथि आकाशबाट खसेर डाँडामा अथवा पहरामा बज्रे भने ? ..." मलाई हाम्रै मावली गाउँको माने बूढाको सम्झना आउँथ्यो । बिचरो बूढो, जहान बच्चा कोही नभएको एक्लो थियो । दाउरा बेचेर खान्थ्यो । एक्लो भए पनि खानैपर्ने । बूढो एक दिन फट्केको भीर माथिदेखि खसेर तल चोसे ढुङ्गामा बज्रेछ । उफ् ! त्यो बेलाको त्यसको अनुहार सम्झँदा पनि अहिले डर लाग्छ । नाकमुख एकै ठाउँमा थेप्चिएर घट्टे रोटीजस्तो भएको, खप्पर पटक्क फुटेर गिदी छ्यालब्याल भएको, एउटा आँखा खोपिल्टाबाट प्याक्ल्याक्क बाहिर उछिट्टिएको, रगत र मथिङ्गलको सराबरीले एउटा भयानकता पैदा गरेको ।

यो सम्झनाले नै मेरो जीउ एक्कासि काँपेर आउँदथ्यो र म एक्कासि आमाको छातीमा लिप्सिक्क टाँसिन जान्थेँ । आमा किताबबाट आँखा उठाएर अनौठो दृष्टिले मतिर हेर्नुहुन्थ्यो ।

"आमा, मधुकर त्यो घोडाबाट खसे भने ?" ... मालती खसी भने ? ... दुवै जना खसे भने ?" – मेरो काँपेको आवाजमा प्रश्न सुनेर आमा हाँसिदिनुहुन्थ्यो । – "धत् लाटा, मधुकर किन खस्थे ? ... मालती पनि खस्दिन । ... त्यो घोडा चानचुने घोडा हो र ?"

साँच्चिकै त्यो घोडा चानचुने होइन, खम्बाबाट निस्केको । मधुकर र मालती पक्कै खस्दैनन् भन्ने मनमा ढुक्क भएपछि म पनि मधुकरकै जस्तो गौरीलाई पछाडि राखेर उनीहरुकै पछाडि उड्दथेँ । म र गौरी स्वच्छसँग चारैतिरका नदीनाला, समुद्र, पहाड, झर्ना, जङ्गल, बादल, हिउँ इत्यादिका मनोहर दृश्य हेर्दै हावामा उड्न थाल्दथ्यौँ ।

"मधुकर समुद्रको आधाआधी पुगे ।" आमा भन्दै जानुहुन्थ्यो । म पनि गौरीका साथै समुद्रको आधाआधी पस्थ्यौँ । हामी अनन्त आकाशको मुक्त वायुमण्डलमा स्वच्छन्दसँगै चीलका जोडीझैँ कावा खान्थ्यौँ । कहिले बादलमा पस्थ्यौँ, कहिले बाहिर  खुलामा । चारैतिर अन्तहीन, नीलो शुन्य वायुमण्डल, तल विशाल नदी र गम्भीर समुद्र मनको स्थिति अनौठो उल्लासले भरिएको हुन्थ्यो ।

किन्तु अकस्मात् आफ्नो पछाडि आँधीबेहरी सुसाएझैँ सुसाउँदै प्रचण्ड वेगले लखेटेर आउन लागेको महाविकराल अनुहारको छवटी राक्षसनीहरुलाई देखेर मेरो सातोपुत्लो उड्दथ्यो । म आमाको काखमा लेप्सिन आइपुग्दथेँ । गौरीसम्म पनि कता गई, खोजखबर गर्न पनि मलाई होसहवास भएन । 

"मालतीका ती छवटी राक्षसनी दिदीहरु क्रोधले चूर भएर मधुकरको घोडाको पुच्छरमा झुन्डिए ।" आमा आफ्नै सुरमा भन्दै जानुहुन्थ्यो । म डर, आशङ्का र असफलताको क्रोधले छटपटिन थाल्थेँ । मलाई यति रिस उठ्थ्यो कि मेरा दाँत बज्न थाल्दथे तर म एउटा सानो, सात–आठ वर्षको केटो उद्विग्न भएर समुद्रमाथि उडिरहेको मधुकर, मालती र घोडाको पुच्छर समातेर झुन्डिएका छवटी भयङ्कर राक्षसनीहरुलाई हेरिरहनुबाहेक के गर्न सक्दथेँ र !

मेरो मुटुको ढुकढुक प्रत्येक सेकेण्ड तीब्र हुँदै जान्थ्यो । मेरो मनले पूरा अठोट गरिसकेको हुन्थ्यो, अब मधुकर एकदुई तीन बाँच्न सक्तैन । त्यो एक्लो, अनि ती छछ जना !

"आमा, मधुकर मर्छ हगि ?" ... राक्षसनीले खान्छन् हगि ?" मेरो स्वर काँपेकै हुन्थ्यो ।
"समुद्रपारि पुग्न सक्यो भने उनीहरुको जोर चल्दैन ।" आमा भन्नुहुन्थ्यो । म आफ्नो सम्पूर्ण इच्छाशक्तिले मधुकरको घोडालाई छिटोछिटो, अझ छिटो धकेल्न थाल्दथेँ ।

"पुग्यो, पुग्यो ... अलिकति छ ।" मेरो उत्सुकता क्लाइमेक्सको चरमतिर बढ्दथ्यो । अब के हुन्छ? अब अब ! मेरा अङ्ग–प्रत्यङ्ग बेहोसमै बटारिन थाल्दथे– "स्याबास !" मधुकरको हातको सुदर्शन चक्र घामको तेजमा बिजुलीझैँ चम्कन्थ्यो । तत्कालै ती छ जना राक्षसनीहरु एकै गुजुल्टो भएर समुद्रको विकराल पेटमा समाधिस्थ हुन्थे । मेरा हात अनजानमै थप्पडी पिटेर नाच्न थाल्दथे । "आमा ! मधुकर, मालती बाँचे हगि?"

आमा मुग्ध आँखाले मेरो विचित्र खुसी निहार्न थाल्नुहुन्थ्यो । मधुकरले सफलतापूर्वक मालतीलाई समुद्र पार गराएको खुसी निहाल्न थाल्नुहुन्थ्यो । यो खुसी मेरो हृदयमा यति अटाइ–नअटाइ हुन्थ्यो कि आफ्नी गौरीलाई त्यो नबाँडुन्जेल मेरो अजीर्ण शमन हुँदैनथ्यो । “गौरी ! मधुकरले त छ जनै राक्षसनी मार्यो मालतीलाई समुद्रपारि तान्यो !" खुसीको आवेगमा झन्डै निसास्सिएर म गौरीको हात समातेर हल्लाउँदथे ।

"साँच्चै !" गौरी आधा खुसी र आधी अविश्वासको स्वरमा चिच्याउँथी र आफ्ना बडाबडा रिट्ठाका गेडाजस्ता आँखामा कौतूहल भरेर मेरो खुसीले प्रदीप्त अनुहार हेर्दथी । त्यो बेला मलाई गौरी अत्यन्त राम्री लाग्दथी । म एकएक गर्दै उसको गाला, चिउँडो, नाक, आँखा, ओठ, निधार अनि कपाल छुन्थेँ । मलाई उसलाई पनि मधुकरको जस्तै वायुपङ्खी घोडामा चढाएर देश–विदेश, नदीनाला, जङ्गल, पहाड, आकाश, पाताल घुमाउने इच्छा उठ्दथ्यो । तर खोइ मेरो  घोडा ? मेरो मन अलि अमिलो भएर आउँथ्यो । अनि म बिस्तारै उसको हात समातेर भन्थेँ – "गौरी ! मसँग घोाड छैन, म पनि तिमीलाई मधु–मालतीलाई जस्तै घोडामा चढाएर समुद्रमाथि बादलमा उडाउँथेँ । म पनि राक्षसनीलाई  मार्थेँ ।"

मेरो ओइलाएको अनुहार देखेर गौरी सायद द्रवित हुन्थी । उसको पनि मुख मलिन हुन्थ्यो । अनि मेरो छातीमा टाँसिएर बडो फुल्याउने स्वरमा भन्दथी – "शङ्कर, तिमी क्या अहिले केटाकेटी नै छौ । पछि ठूलो भएपछि तिमी र म घोडामा चढेर बादलमाथि जाउँला ।"

"मलाई घोडा कल्ले किनिदिन्छ र ?" – मलाई शङ्कै लाग्दथ्यो किनकि मलाई घोडा किनिदिने काँटको मानिस जति खोज्दा पनि आफ्नो विचारमा चढाउन म समर्थ भइनँ । मेरी आमासँग एक पैसा पनि छैन भन्ने कुरा मलाई केटाकेटी नै भए पनि थाहा थियो । अनि मेरो बाबाले पनि मलाई घोडा किनिदिनुहुन्छ भनेर म पत्यार गर्न सक्तिनथैँ किनकि मलाई बाबाले कुनै दिन पनि ख्यालख्यालको घोडासम्म पनि किनिदिनुभा’ छैन । 

"म ल्याइहाल्छु नि ! मेरो बाबासँग धेरै पैसा छ । तिम्रो बाबा पो गरिब त । म मेरो बाबालाई भनेर घोडा किन्न लाउँछु अनि भइगो नि ।"

वास्तवमा गौरीको यो अभिमान कुनै फोस्रो अभिमानको आधारमा थिएन । उसको र मेरो आर्थिक स्थितिमा पूर्व र पश्चिमको अन्तर थियो । सहर बाहिरै भए पनि उसको घर धेरै ठूलो, झिलिमिली, उसको घरमा मोटर पनि थियो । मेरो सानो कुचुक्क परेको, खुम्री बुढीजस्तो । गौरी राम्राराम्रा फ्रक, गरगहना लाएर, कपाल पनि बास्ना आउने तेल र रिबनले सजाएर, फर्याकफुरुक गर्दै यता र उता हिँड्थी । उसको अगाडि म ? के भनुँ खोई ! नयाँ सडकको झिलिमिलीको अगाडि मखनटोलको रछाने गल्ली । ... यस्ता बीचमा पनि असाधारण स्नेह, आश्चर्य !

तैपनि गौरीको यो आश्वासन मेरो पुरुष आत्मालाई अति सह्य हुँदैनथ्यो । मधुकरलाई पनि त घोडा मालतीले किनिदिएकी होइन, आफ्नै पुरुषार्थले उसले सय मन फलामको चिउरा खाएर, सय मन दूध पिएर, सय फेरा डन्डा पेलेर अनि एकै चोटिमा फटिकको खम्बा फोडेर निकालेको त हो नि ! मेरो पुरुष अभिमान गर्जन्थ्यो । – "नाइँ, म तिमीले किनेको घोडा लिन्नँ ।"

मेरो त्यो अप्रत्याशित इन्कारमा गौरी जिल्ल पर्थी, सायद दुःखी पनि हुन्थी । "किन ?"
"मधुकरलाई मालतीले दिएकी हो र ? ... उसले आफैँ ल्याएको । म पनि ठूलो भएपछि आँफै खोजेर ल्याउँछु ।"
"कहाँबाट नि ?"
"उः त्यो बादलमाथिको सहरबाट ।"
"साँच्चै ?" – मेरो त्यो अनौठो जबाफले गौरी साँच्चै जिल्ल पर्थी । ऊ भन्थी – "कसरी जान्छौ नि त्यति माथि ?"
किनः ... उः त्यो डाँडामा जान्छुु, अनि त आकाश हातैले भेट्टिहाल्छ नि !" म शिवपुरीको डाँडालाई देखाएर यसरी जबाफ दिन्थेँ कि मेरा निमित्त त्यति काम त हात्तीले जिरा खानुजत्तिकै हो । 

अनि हामी मुग्ध भएर त्यो नौलो अनन्तमा छिनछिनमा रुप बदल्दै हावाको गतिसँग यता र उति खेल्ने, कपासका फूलहरु छरिएझैँ फाटफुट बादलका टुक्राहरुलाई हेर्न थाल्दथ्यौँ । गौरीलाई पूरा पत्यार परिसकेको हुन्थ्यो कि त्यो बादलमाथि एउटा सहर छ, त्यो सहरमा एउटा घोडा छ, जसलाई म ठूलो भएपछि गएर ल्याउनेछु अनि दुवै जना मधुकर र मालतीजस्तै त्यसमा चढेर समुद्रमाथि बादलपारि आकाशको छातीमा उड्नेछौँ ।

"रातमा कति चङ्ख भएर बस्दा पनि मधुकर निदाइहाले ।" आमा भन्नुहुन्थ्यो – "र विष्णु भगवानका दूतहरुले मालतीलाई स्वर्गको विमानमा हालेर उडाए । जाने बेलामा मालतीले मधुकरलाई बिउँझाउन भरमग्दुर गरिन् तर मधुकर बिउँझेनन् । मालतीलाई अर्काले चोरेर लग्यो ।" मैले देखेँ– मधुकर उठर मालतीलाई नपाउँदा क्रोध, क्षोभ र ग्लानीले बौलाउन थाल्यो । उसको भन्दा बढी क्रोध मलाई उठ्यो । किनकि म त्यो बेला बिउँझेको थिएँ औ अहिले पनि ती बेइमान विष्णुका दूतहरुलाई पनि देख्दथेँ । उडिरहेको विमानभित्रकी मालतीका विवश आँसु पनि देख्दथेँ अनि मधुकरको शोक पनि । मलाई चिच्याएर मधुकरलाई त्यो विमान देखाइदिने मन हुन्थ्यो तर मेरो आवाज ज्यादै सानो हुन्थ्यो । निराश भएर मधुकरको हातबाट चक्र खोसेर त्यो विमान बोक्ने चोरहरुलाई एकएक गर्दै गिँडिदिने उत्तेजनाले छटपटाउँथेँ, हातमा चक्र लिएर झम्टि पनि हाल्थेँ । तर तिनीहरुलाई मारेपछि त मालती– समेतको विमान उनीहरुको काँधबाट खसेर पहाडमा बजारिहाल्छ नि त्यसैले म हात रोक्दथेँ ।

मलाई अकस्मात् अर्कैतिर सम्झना जान्थ्यो । मालतीलाई जस्तै कुनै विष्णुका दूत आएर गौरीलाई पनि लगे भने ? मेरो मुटु आशङ्काले काँप्दथ्यो । म एक्कासी किताब सुन्न छाडेर आमालाई आश्चर्यमा डुबाउँदै गौरीकहाँ दौडन्थेँ । गौरी आफ्नो ठूलो चोकमा खिलखिल हाँस्दै सानो बाइस्कलमा चढेर घुमिरहेकी हुन्थी । मेरो मन केही ढुक्क भए, तापनि मुटु अझै छिटोछिटो चलिरहेको   हुन्थ्यो ।

"गौरी !" म डर र खुसी मिसाएर हतारिएको स्वरमा भन्थेँ र बाइस्कलको डन्डी समात्दथेँ ।
मलाई देख्नासाथ गौरीको अनुहार प्रदीप्त हुन्थ्यो, स्वरमा सनाई बज्दथ्यो, "शङ्कर तिमी बाइस्कल चढ्दैनौ ?" ऊ मलाई बाइस्कल दिन्थी । म चढ्न खुट्टा मात्र के उचाल्दथेँ, माथि बरन्डाबाट एउटा बास चिरिएझैँ चिरिएको आवाजले मेरो रगत जमाइदिन्थ्यो । "ए ! त्यो बाइस्कलको सत्यानाश पारिसकी राक्षसनीले ... टोलभरिका माग्ने मोराहरुलाई ल्यायो, सुम्प्यो, .... ए काले ! ए माइला ! को छ हँ तल ? ए सत्यनारायण ! त्यो बाइस्कल छिँडीमा हुलेर ताल्चा मारिदे ।... भएभरका अभागी मोराहरुलाई घरमा ल्याई । यो सत्यानाशिनी !" वास्तवमा त्यहाँ म एउटा– बाहेक कुनै 'टोलभरका मोरा' हुँदैनथे तर गौरीकी फुपूको आँखामा म सायद 'एकबाट अनेक' रुप हुन्थेँ !

उनको आवाजसँगै तीन जना नोकरले तीनतिरबाट झम्टेर जबरजस्ती बाइस्कल मबाट खोसेर लग्दथे । त्यति बेला मेरो बादलको सहरमा गएर घोडा ल्याउने, त्यसमा गौरीलाई चढाएर समुद्रमाथि उड्ने बहादुरी, जोस सबै बाफजस्तै उडेर जान्थ्यो । म असहाय र दीनझैँ नोकरको त्यो रुखो व्यवहार सहन्थेँ । मेरो भित्र असह्य चोटको अनुभव भएर आँखा टलबलाइहाल्दथे । मेरा आँखामा टलबलाएको आँसु देखेर गौरी पनि दुःखी हुन्थी । सायद ऊ मलिन अनुहार लिएर मेरो नजिक आउँथी र मेरो हात समातेर भन्थी – "शङ्कर ! त्यो हाम्रो दिदीआमा नि, असाध्य नजाती । मलाई सधैँ तिमीसँग खेल्यो भनेर गाली मात्रै गर्छे बूढी ! "तिमी गरिबको छोरो रे ! हो, तिमी गरिब ?"

म के जवाफ दिऊँ । म गरिब र गौरी धनी किन? औ मैले गौरीसँग खेल्न किन हुन्न? यो मेरो सोच्ने विषय नै थिएन । मलाई त यही थाहा थियो कि गौरी गौरी हो र उसलाई मैले भोलिपर्सि बादलमाथिको सहरमा उडाउनुपर्छ अनि घोडामा राखेर समुद्रमाथि हाँक्नुपर्छ !

"त्यसले भनेर म मान्दिनँ के ! बुबामुमाले भने पनि मान्दिनँ ।" आखिर गौरीि आफै निश्चय गर्थी । हामी दुवै हातेमालो गर्दै बगैंचाको सानो पोखरीको डिलमा आएर उभिन्थ्यौँ र पानीमा परेको उल्टो छायामा परस्पर मुख हेरेर हाँस्दथ्यौँ । अनि अगाडिको आलुबखडाको हाँगामा तलमाथि गर्ने धोबिनी अथवा पोखरीमा सल्याङबल्याङ गर्ने राता, पहेँला माछालाई मुग्ध भएर हेथ्र्यौँ ।

"शङ्कर ! तिमी घोडा लिन कैले जाने?" सायद पानीमा परेको सेतो बादलको एक टुक्रा छायाले गौरीको स्मृतिमा कैलेदेखि पुरिएको कुरा कोट्टयाईदिन्थ्यो । ऊ एक्कासि प्रश्न गरेर मनको स्थिति खलबल्याइदिन्थी । मलाई त्यो विस्मृत घटनाले फेरि खिन्न पाथ्र्यो । "गौरी, मालतीलाई त विष्णुले चोरेर लग्यो ।" म बोझिलो स्वरमा भन्थेँ ।

"किन? मधुकरले विष्णुलाई पिटेन ?"
"ऊ त निदायो, नसुत्न खोज्यो र पनि सुत्यो ।"
"फसाद पर्यो ! अब उनीहरुको भेट हुन्न हगि?" एक्कासी गौरी पुर्खिनी बूढीझैँ बनेर भन्थी, "फसाद पर्यो !"

त्यस पदिन म गौरीकहाँबाट घरतिर फर्कदा मनमा एउटा टर्रो बोझ बोकेर  फर्केँ । छातिभित्र कताकता दुखेझैँ लाग्दथ्यो अनि आँखा कताकता भरिएको । मलाई गौरीको बूढी दिदीआमादेखि भित्रभित्रै रिस उठिरहेको थियो । मलाई उसले किन लडाईदिई? मैले उसको बाइस्कल चढेको हो र? त्यो गौरीको बाइस्कल पो त !

“तिमी चढ्दैनौ शङ्कर ! चढ न !” गौरीले नै जिद्दी गरी अनि उसले मेरो हात समातेर बाइस्कलमा चढाई र पो अनि आफू पछाडि धकेल्न थाली । म अविष्मरणीय आनन्दले बाइस्कलमाथि चढेर आफूलाई घोडामा चढेको मधुकरभन्दा कम ठूलो अनुभव गर्न थालेको थिइन । आखिर मेरा पछाडि पनि त गौरी मालती थिई । 

किन्तु एक्कासी मेरो सम्पूर्ण सुख स्वप्न त्यै राक्षसनी दिदीआमाले भत्काइदिई । मलाई बाइस्कलबाट लडाइदिई अनि गौरीलाई पनि गालमा चड्कन दिई । “यो राक्षसनी । यो सत्यनाशिनी !”

त्यसपछि भुइँबाट भरखरै उठेर लुगाको धुलो झार्न लागेकोमा मलाई आँखा तरेर भनी– "यी माग्ने मोराहरुको सङ्गतमा लागेर... अबदेखि सानु मैयासँग खेल्न नआउनू । जा घर, अबदेखि पनि आइस् भने ... "

म बिस्तारै सडकको ठूलो ढोकाबाट निस्केँ अनि भरिएका आँखाले ढोकाको डन्डीबाट भित्र हेरेँ । गौरी मतिर हेरिरहेकी थिई । "तिमी हाम्री दिदीआमाको घर नआऊ है, शङ्कर ! त्यो त बोक्सी बूढी ।" गौरी हात हल्लाई – हल्लाई भन्दै थिई । दिदीआमा र गौरीको बुबा माथि बरन्डामा उभिरहेका थिए । "हेर मलाई गाली गरेकी ? यो मोरो माग्ने छिमेकमा, छोरी भाँड्न आँट्यौ तिमीले । छोटाको हावा लागेपछि बडाको स्वभाव कताबाट होस् ?यो छोटाहरुको टोल नछोडेसम्म यिनले छोड्ने होइनन् ।" दिदीआमा बुबासँग भन्दै थिई ।

मेरो सानो मगजमा पनि त्यति बेला दुःख, क्रोध र क्षोभले एकै पटक भुमरी उठ्यो । के गरुँ । म ठूलो भइदिएको भए मधुकरको सुदर्शन चक्र ल्याएर ...

"मधुकरको हातको सुदर्शन चक्र बिजुली चम्केझैँ चम्क्यो । तत्कालै ती मालतीका राक्षसनी दिदीहरु समुद्रको पेटमा ..." आमा भन्नुहुन्थ्यो अनि म मालतीका दिदीहरुको ठाउँमा गौरीकी दिदीआमालाई हेर्न  इच्छा गर्थे । बोक्सी बूढी । 



"गौरी, तिमी मकहाँ आउँछ्यौ ? ... आऊ है त ?" म कराएँ ।
"ल ल, म भोलिपर्सि आउँला ।"
म त्यहाबाट आफ्नो घरतिर आएँ मन त त्यसै भरिएको छँदै थियो, आमाका अगाडि पुग्नासाथ मुटुको भक्कानो त्यसै फुट्यो । म आमाको काखमा घोप्टो परेर रुन थालेँ । 
"किन बाबू, के भयो ?" आमाले अनौठो मान्नुभयो ।
"त्यै गौरीको दिदीआमा बूढीले त हो नि अर्कालाई लडाइदिई अनि गौरीसँग खेल्न नआउनू भनेर गाली गरी ।" म कोक्किईकोक्किई बेलिविस्तार लाउन  थाले ।

"तँ अर्काकहाँ खेल्न किन गएको त ? आफ्नो घरमा खेल्नु नि !" आमाले त्यति मात्र भन्नुभयो तर एकै क्षणका लागि उहाँको अनुहार विकृत भयो । उनीहरु ठूलाबडा मान्छे, उनीहरुकहाँ नजानू ।"

तर उनीहरु किन ठूलाबडा, हामी किन छोटा ? यो प्रश्न त्यति बेला मेरो गिदीमै चढ्न सक्तैनथ्यो । गौरी त ठूलाबडा होइन नि ! ऊ त गौरी नै हो । ... ऊ त मैजस्ती हो, ठूलाबडा कसरी हो ? ...

त्यसै दिन बेलुकी मलाई किनकिन जाडो लागेर आयो । मैले आमालाई बताएँ । आमाले मेरो निधार, गाला एकएक गरी छामेर मलाई ओछ्यानमा सुताएर सिरकले गुटुमुटु पारिदिनुभयो । मैले उठ्न खोज्दा मलाई त्यसो गर्न दिनुभएन । बेलुकी बाबा आउनुभएपछि आमाले बासँग भनेको मैले सुनेँ – "छोरालाई त बेफुङको जरो छ ।"

म रातभर इन्तु न चिन्तु रहेँ । भोलिपल्ट बिहान मलाई मेरो शरीर कस्तोकस्तो लाग्यो । गौरीकहाँ पुग्न मेरो प्राण छट्पटाउन थाल्यो तर उठ्न खोज्दा मलाई तिघ्रा कामेझैँ लाग्यो अनि मैले हिजो आमाले बाँसग भनेको सम्झैँ । मलाई बेफुङको जरो छ रे ! मलाई जरो छ तर गौरीसँग खेल्ने इच्छा पनि सानो छैन । गौरी त्यति बेला के गरिरहेकी होली ? ... ऊ बगैंचाको चौतारामा बसेर पोखरीको माछालाई स्याबजी दिइरहेकी होली । ... म जबरजस्ती उठ्न खोजेँ । त्यसै बखत आमा टुप्लुक्क आइपुग्नुभयो र मलाई फेरि ओढ्नेले गुटुमुटु पारेर सुताउनुभयो तर मेरो मन भने गौरीको वरिपरि मडारिरहेको थियो । गौरी साँच्चै त्यति बेला के गरिरहेकी होली? साँच्चै ऊ केँवराको पातमा जाईको फूल टिपेर मलाई पर्खिरहेकी भए ?...

"आमा, म गौरीकहाँ नगए गौरी यहाँ आउँछे ? हो आमा ।" मैले आमासँग  सोधेँ ।
"हो आउँछे, लौ ज्ञानी भएर सुत ।" आमा जानुभयो । अब मलाई अलि ढुक्क भयो । म ज्ञानी भएर सुतिराखे गौरी आउँछे । अनि म आमाले भन्नुभएजस्तै ज्ञानी भएर सुतिरहेँ तर तीन–चार दिन ज्ञानी भएर सुत्दा पनि गौरी आईनन् । 

"आमा, गौरी किन आइन?"
"आउँछे, आउँछे, लौ चुप लागेर सुत्, ज्ञानी भएर ।"
म चुप लागेर पनि सुतेँ तर गौरी आइन । बिहान उज्यालो बोकेर आउँथ्यो तर गौरी आइन । किन आइन गौरी ? लाग्दथ्यो अनि मुरली बजाउँथे । त्यो मुरलीको स्वर सुनेर मालती आउँथिन् ।" आमा किताब पढेर भन्नुहुन्थ्यो तर मसँग त बाँसुरी छैन । त्यसैले गौरी आइन । मुरली बजाएपछि गौरी पक्कै आउँछे तर खोइ मसँग मुरली?... 

"आमा ! हामीलाई मधुकरको मुरली ल्याइदिनोस् न ! म पनि बजाएर गौरीलाई डाक्छु । ... मुरली बजाएपछि गौरी आउँछे हगि आमा?"

मेरो कुरा सुनेर आमा मलाई अनौठोसँग हेर्नुहुन्थ्यो । मानौँ म उहाँको छोरो नभएर कुनै जन्ममा पनि नदेखेको नौलो र अनौठो जन्तु हुँ तर मुखले भने केही पनि बोल्नुहुन्नथ्यो ।

दुई–चार दिन त आमाले यसै गरी नबोली टार्न खोज्नुभयो तर अन्तमा मेरो ढिपी यतिसम्म बढ्यो कि उहाँले हाम्रै छिमेकका पराजुली पण्डितको गाई चराउने गोपेलाई भनेर एउटा मुरली बनाएर नदिई सुखै पाउनुभएन । म पनि अब मुरली पाएर आफूलाई मधुकर राजा नै सम्झन थालेँ । अब के छ र ? भरे साँझ हुन्छ अनि मैले मुरली बजाएँ कि त गौरी दौडेर आई ! बस् त्यो सन्ध्याको प्रतीक्षामा मेरो मुटु उफ्रन थाल्यो । सन्ध्या आई कि त गौरी पनि आई ।

बिस्तार–बिस्तार त्यो प्रतीक्षाको घडीको अन्त भयो । बिस्तारै सन्ध्याले मेरो झ्यालभित्र खुट्टा हाली अनि बिस्तारै ऊ त्यहाँबाट भागी पनि । मेरो हृदयले धैर्य छोड्यो । अब मैले मुरली बजाएँ कि त गौरीले कोठाभित्र पाइला टेकी । 

साँच्चै नै त्यो सन्ध्याको धमिलोमा मेरो एकान्त कोठामा मुरलीको स्वर फुट्यो । मेरो सास मुरलीमा प्राण फुक्दै आँखा ढोकाबाट पस्ने गौरीको प्रतीक्षामा थियो । अब आई गौरी, अब पसी गौरी । म मुरली जोरजोरसँग फुक्न थालेँ । मेरो घाँटी सुकेर सास भित्रै रुमल्लिन थाल्यो तर गौरी आइन । मेरो आँखा ढोकैमा टाँसिन पुगे तर गौरी आइन । मैले अरु जोरले मुरली फुकेँ । मुरलीबाट घाँटी सुकेको मानिसले चिच्याएजस्तो स्वर निस्क्यो, तर गौरी आइन  । 

तीन दिन मुरलीले चिच्याएर डाक्दा पनि गौरी आइन । बिस्तार–बिस्तार मन मुरलीबाट मरेर गयो । मुरली त्यसै छेउमा मिल्किरहन्थ्यो तर उठाएर त्यसमा प्राण भर्ने इच्छा हुँदैनथ्यो । गौरी आइन । मुरलीको स्वरले पनि ऊ आइन ! मलाई ज्यादै नरमाईलो लाग्यो ।

कथाकार परिचय
रमेश विकल (वि.सं. १९८५–२०६५) प्रसिद्ध आख्यानकार हुन् । उनले नयाँ सडकको गीत, आज फेरि अर्को तन्ना फेरिन्छ, एउटा बूढो भ्वाइलिन आशावरीको धुनमा, उर्मिला भाउजु, शव सालिक र सहस्रबुद्धजस्ता कथासङग्रह र अबिरल बग्दछ इन्द्रावती, सागर उर्लन्छ सगरमाथा छुनजस्ता उपन्यासको सिर्जना गरेका छन् । सामाजिक यथार्थतालाई टिप्दै त्यसप्रति आलोचनात्मक दृष्टि राख्ने विकलका कथामा प्रगतिशील चेतना पाइन्छ । उनी सामाजिक जीवनको यथार्थ चित्र उतार्न सक्ने सशक्त कथाकार हुन् । उनले बाल–मनोविज्ञान तथा निम्न वर्गका बालबालिकाको जीवनका विविध अवस्थाको चित्रण गरेर प्रशस्त कथा लेखेका छन् । उनको ‘मधु–मालतीको कथा’ मा पनि यही विशेषता पाइन्छ । 






तपाईलाई कुनै पनि शैक्षिक सामाग्री चाहिएमा mail@rijankc.com.np मा ईमेल गर्नुहोला, म सकेसम्म उक्त सामाग्री उपलब्ध गराउने प्रयास गर्नेछु ।