छिमेकी – गुरुप्रसाद मैनाली

Posted by Rijan KC on |


छिमेकी

- गुरुप्रसाद मैनाली

तपाईलाई समस्या पर्दा सर्वप्रथम कसलाई गुहार्नुहुन्छ? तपाईको आपत् र खुसीको साथी को हुन सक्छ? तपाईसँगै जोडिएको घरमा बस्ने मानिस तपाईका छिमेकी हुन् । ती छिमेकीसँग तपाईको सहयोगी सम्बन्ध रहन्छ तर छिमेकीसँगको तपाईको सम्बन्ध कहिलेकाँही चिसिन पनि सक्छ तैपनि मर्दापर्दाको सहयोगी छिमेकीहरु नै हुन्छन् । छिमेकीसँगको सम्बन्धमा जातजाति, वर्ग, लिङ्ग आदिको विभेद रहँदैन । निकटमा बसोबास गर्ने हुनाले मिलेर बस्नु छिमेकीको कर्तव्य र संस्कार  हो । त्यसै कारण छिमेकीलाई ‘जिउँदाको जन्ती र मर्दाको मलामी’ पनि भनिन्छ । छिमेकीसँगको यही आत्मीय सम्बन्धलाई बोध गर्न ‘छिमेकी’ कथा पढ्नुहोस् ।


१.
असारको महिना थियो । दिउँसो टन्टलापुर घाममा मारे किसानहरु मेलो छाडेर चौतारामा बसेका थिए । कुलामाथि चौतारो, कुलामुनि आशामरु साहूको हिउँदे पसल, त्यसमुनि ज्यामिरे बेँसीको फाँट । निकै रमाइलो ठाउँ थियो । किसानहरु सोही पसलमा तमाखु किनेर कक्कड भर्न लागेका थिए । धर्मानन्द पाध्ये चौतारामा बसेर गफ चुट्दै थिए । गुमाने घर्ती हत्केलामा मुन्टो अड्याएर ढुङ्गामा पल्टेको थियो । धनजिते भोटे पसलका डिलमा बसेर घुम बुन्न लागेको थियो । यी सरल किसानहरुलाई धनमा निमित्त तँछाड र मछाड भन्दै घचेटाघचेट गरेर अरुलाई उछिनी दगुर्न खोज्ने यो सभ्यता भनूँ या अज्ञानता भनूँ, यस भयङ्कर रोगले तिलभर पनि छोएको थिएन । केवल बखतबखतमा पानी परिदिए खेती कमाइबाट सरकारको तिरो, साहूको ऋणको ब्याज, वर्षदिनलाई अन्न, वस्त्र, नुन, तेल पुर्याउन सके पुगेको थियो ।

धर्मानन्द पाध्ये अलि ठटेउला किसिमका मानिस थिए,वीरसिक्का पढ्थे । गाउँको बुज्रुक हुँ भन्ने घमण्ड गर्थे । मानिसलाई लडाएर तमासा हेर्ने उनको स्वभाव थियो । एकछिनपछि गुमानेका गोरु धनजितेको बीउमा पसे । आजभोलि रोप्नुपर्ने बीउ, धनजिते आगो भयो । घुम भुइँमा मिल्काएर गोरुलाई लगारीलगारीकन चुट्न लाग्यो ।

किसानहरु सबै कुरा सहन सक्छन् परन्तु वस्तुलाई अर्काले दया छोडेर कुटेको सहन सक्दैनन् । बीउबाट धपाइन्जेल त गुमाने केही बोलेको थिएन, परन्तु जब कुट्न लाग्यो अनि गुमानेको रिसको सीमा रहेन । असार महिनाको दिनभर जोत्नुपर्ने गोरु, उसमाथि पसेका मात्र थिए, उति नोक्सान गरेका थिएनन् । जुरुक्क उठेर भन्यो – “बीउ नोक्सानी गरेको छ भने अर्मल ले, असारका गोरु किन कुट्छस् ए धनजिते !”

आजभोलि रोप्ने बीउको अर्मल तिर्ने कुरा सुनेर धनजितेलाई सहिनसक्नुभयो । पाखुरा सुर्कदै भन्यो – “तेरा डाम्ना छाडा गरेर असारको बीउ चराउँछस्, अझ अर्मलको धाक लगाउँछस्, गुमाने चोर ।”

धर्मानन्दलाई लडाउने मौका पर्यो । सुर्तीको लुँडो निमाठ्दै भने – “कस्तो मिचाहा भोटे रहेछ, बिहानभरि जोतेको भोका गोरुलाई आफैँ कुट्छ, अझ उही चोर र सोर उड्कन्छ ।” गुमानेको कनसिरी अगि नै तातिसकेको थियो, धर्मानन्दका कुराले झनै भुतुक्क भो । निर्धाको हात छिटो चल्छ भन्छन् – “किन मुख छोड्छस् ए धनजिते डाँकू” भनेर हात मिसिहाल्यो ।

धनजिते पनि चढ्दो उमेरको मानिस, बलको तुजुक, किन हट्थ्यो ? दुवै जना लठारिँदै चौतारामुनि पुगे । तमासा हेर्नेको ठट लाग्यो । धनजितेले गुमानेलाई लगेर कुलामा पछार्यो । गुमाने ढाक्रेहरुले चम्का लगाएको ढुङ्गो दुई हातले उचालेर आइलागेको थियो, धर्मानन्दले छेके । 

गुमाने दौराको फेर निचोर्दै पसलको डिलमा बसेर धनजितेसित अघोरसँग बाझ्न थाल्यो – “बाबुले धुलिखेलको भारी चोर्यो र तीन दिनसम्म छिँडीमा जाक्याथ्यो, ठूलो हुन्छस् !”  

“काउले भन्ज्याङमा आरुघाटे नेवारको सुर्तीको ढाकर चोर्दा मानबिरे द्वारेले गोर्खे लौरी कसेर चउरमा लडाएको कसको बाबुलाई नि? गम्कन्छस् !”

बाबुआमा, दिदीबैनी कसैको इज्जत हुर्मत बाँकी रहेन । साँझ परेपछि पनि बाझ्दै उकालो लागे ।
चौतारमा झगडा भऐखि धनजिते र गुमानेको बोलचाल बन्द भयो । बाटामा धनजितेलाई देख्यो भने गुमाने तर्केर हिँड्थ्यो ।

२.
भदौको आधाआधीतिर गाउँमा आँठे पर्यो । पहिले एक दुई दिन रुघा लागेजस्तो हुन्थ्यो, त्यसपछि चौपट्टसँग भुङ्ग्रे ज्वरो आउँथ्यो । चार–पाँच दिनपछि सन्निपातको च्छिन देखिन्थ्यो । आठ दिनका दिन खत्तम । 

गुमानेका विचारमा यो सबै देउदेउताको दोष थियो । भन्थ्यो– “देउदेउताको मानभाउ नगरेपछि यस्तै हुन्छ । परार रगतमासीले गावैँ सोतर भो । गाउँका थानीको पूजा गरुँ भन्दा ‘सिमेभुमे पुजेर पनि रोग हराउँछ?’ भनेर धर्मानन्दले मेरो कुरा हाँसोमा उडाए । आखिर घाटकी देवी र गाउँका भुमेको पूजा गरेको पर्सिपल्ट रोग साम्य भो ।”
गुमानेले जान्ने बसायो । गाउँका सार मानिस जम्मा भए तर करेसो जोडिएको धनजिते आएन । जान्नेले पनि देवीको दोष देखायो । सबै जम्मा भएर धुमधामसँग पूजा गरे ।

पूजा गरेको पर्सिपल्ट गुमानेकी स्वास्नी लडी । बिचरी झन्नै खुस्की थी, बाँची । त्यसपछि धनजितेलाई समात्यो । तीन दिनपछि स्वास्नीचाँहि लडी । एकातिर इन्तु न चिन्तु भएर स्वास्नी लडेकी थिई, अर्कोतिर ज्वराको तोडले धनजिते बरबराउन लागेको थियो । पानीसम्म खान दिने मानिस पनि कोही थिएन । सार गाउँ सोतर छ, कसले हेरचाह गरोस्? गाईबाख्रा कीलाका कीले टट्टिएर मर्न लागे । फोएर पाखातिर लाइदिने मानिस कोही भएन । 

पहिले त शत्रुको मुख के हेर्नु भनेर गुमानेले वास्ता राखेन परन्तु स्वास्नीसमेत थला परेपछि गुमानेको चित्त रहन सकेन । उसले विचार गर्यो– “यस्तै दैव लाग्छ र पो छरछिमेकी खोज्नुपरेको नत्र ओडारमा गएर बसे पनि त भो नि ! जहाँ पनि बस्ने न हो । दिनदसा, आपत्विपत् कसलाई पर्दैन? बलको तुजुक थियो, अलाई सधैँ यत्तिकै पुग्छ भनेर घमण्ड गर्यो, परमेश्वरले घमन्ड तोडे । बैगुनीलाई गुनले मार्नु भन्छन्, एउटै गाउँमा बढेर यो उमेर भो, दाँैतरी हो, यस्तो आपत्मा पनि देखेको नदेख्यै गरे पाप लाग्दैन ?”

गुमाने धनजितेकहाँ पुग्यो, गाईबाख्रा फोएर पाखातिर लाइदियो । धनजिते मुढो लडेझँै उत्तानो परेर लडिरहेको थियो । दिसापिसाबको होस थिएन । ओढ्ने ओछ्याउने फेरिदियो, गुमानेले  एकछिन छोडेन ।

मिर्मिरे उज्यालो भएको थियो । गुमानेलाई खोज्दै आशामरु साहू आइपुग्यो । एकाबिहानै आशामरुलाई देखेर गुमानेले भन्यो– “कति कामलाई उकालो लाग्यौ साहू?”

“पसलमा बर्खे मालटाल छैन, डुबै डिनलाई सहर जाइ डिन्ठिस् कि?”

“छिमेकमा यो बिजोक भइरहेछ, क्यै काम नपाएर जान्छु अब भारी खेप्न !”

“रोज रुपियाँ डिन्छ लाटा !”

“के रुपियाँको धाक देखाउँछौ साहू, गरिब छु, निमेक मजुरीले छाक टार्नुपर्छ तापनि पैसाको निम्ति आत्मा बेच्ने त्यति सारो नीच भएको छैन । छिमेकीलाई ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ भन्छन् । यस्ता बेलामा चटक्क छाडेर भारी खेप्न हिँडे मर्दैन? तिमी त ठमठम्ती छौ र रुपियाँको धाक देखाउँछौ । धनजिते झैँ चार दिन अन्न न पानी भएर लड्नुपरे थाहा पाउने    थियौ ।”

“इस्, छिमेकी ! अस्टि चौतारामा झन्नैले मारेठ्यो, ठा पाउलास् ।”

“यस्तै हो, मैले पनि सहेर बसिदिएको भए किन झगडा हुन्थ्यो? एउटै सिरान गरेर सुतेपछि कहिलेकाँही गोडा लाग्छ नाइँ, झगडा भो भन्दैमा धर्म छोड्नुहुन्छ? आफूले साँचो मनले उपकार गरेपछि उसको आत्माले पनि गर्न कर लाउँछ । अमृत रोपेको ठाउँमा विष फलेको कतै सुनेका छौ? माटाको भर ढुङ्गो, ढुङ्गाको भर माटो, संसार भरैभरमा अडेको छ । यो भरको ताँदो छिन्नेबित्तिकै सबै भताभुङ्ग हुन्छ ।”

आशामरु र गुमानेको खलबल सुनेर धनजितेले आँखा उघार्यो। धनजितेले हेरेको देखेर गुमानेले भन्यो– “कस्तो छ माहिला दाई?”

“मो मार्छ कि कान्जा, तोँ कोइले आइस् ?”

“पाँच दिन भो दाइ, तिमीहरु दुवै लोग्नेस्वास्नी लडिहाल्यो, गाईबाख्रा भोकभोकै कराउन थाले, बिजोक हेर्न सकिनँ, दौडेर आएँ । तिम्रो जस्तो ढुङ्गाको मन म कहाँ पाऊँ ।”

“पोलेको घाउमा नुन नछार कान्जा, मो आधाम हो, छेमा गर् ।”

धनजिते हिँडडुल गर्न लाग्यो । गुमानेलाई एकछिन छोड्दैन । वन, मेलापात जहाँ गए पनि दुई जना सँगै जान्छन् । आजकल कसैले गुमानेले बदख्वाइँ गरेको सुन्यो भने धनजिते झगडा गर्न अगि सर्छ । 
(नासो कथासंग्रहबाट)

कथाकार परिचय
गुरुप्रसाद मैनाली (१९५७–२०२८) आधुनिक नेपाली कथाकार  हुन् । उनको नासो कथासंग्रह प्रकाशित छ र यसमा एघारवटा कथाहरु सङ्कलित छन् । उनी समाजमा घट्न सक्ने घटनाहरुलाई टिपी कथाको सिर्जना गर्दछन् र समाजलाई आदर्सको बाटो पनि देखाउँछन् । उनका कथामा उनकै समयको नेपाली समाजको यथार्थलाई प्रस्तुत गरिएको छ र उनी समाजको यथार्थ चित्रणमा मात्र सन्तुष्ट नरही त्यसलाई नैतिक आदर्सतर्फ पनि डो¥याउँछन् । ‘छिमेकी’ कथामा त्यस्तै खालका नेपाली गाउँले छिमेकीका खटपटको यथार्थ र मेलजोलको आदर्सलाई घतलाग्दो रुपमा प्रस्तुत गरिएको छ ।


PDF डाउनलोड गर्नका लागि यहाँ Click गर्नुहोस् ।

Enter your email address to subscribe news feed:

Contact Me

Rijan KC
Kalika Muncipality-5, Padampur
Chitwan, Nepal
Cell: +977 9845080226, 9855080226
E-mail: mail@rijankc.com.np
Facebook: /kc.rijan

Recently Uploaded Matter

Sponsor